News Griha :: न्यूजगृह
संसद् अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
फाइल तस्बिर

काठमाडौं— सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।

बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो ।

उनहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए । प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताए ।

सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी भए ।

नेकपा माओवादी केन्द्रका प्रतिनिधि सहभागी थिएनन् । नेकपा एमाले सचेतक महेशकुमार बर्तौलाले सदनको अवरोध हटाउन सभामुखले शीर्ष नेताको तहमा पहल गर्नुपर्ने बताए ।

उनले सत्तापक्षले संवादबाट निकास खोज्न तयार नरहेको बताए । उनले भने,‘अवरोध हामीले होइन सत्तापक्षको अडानले गर्‍यो । उच्चस्तरीय छानबिन समिति गठनको मामिलामा हामी लचक हुँदैनौँ, हामीले उठाएको मागलाई सम्बोधन गरेर सदन अघि बढाउनुपर्छ ।’

रास्वपाका प्रमुख सचेतक परियारले शीर्ष दलका नेताहरूबाटै यस विषयलाई टुंगोमा पुर्‍याउन सभामुखलाई सुझाव दिएको बताए । उनले भने,‘प्रमुख सचेतकहरू मात्र बसेर पनि विषयले टुङ्गो नपाएपछि हामीले सभामुखलाई शीर्ष नेताबीच छलफल गर्न सुझाव दिएका हौँ ।’

सत्तापक्ष र प्रतिपक्षको बीचमा सदन अवरोध गर्न नहुने धारणा राख्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नमा सरकार लचक हुनुपर्ने बताउँदै आएको छ ।

प्रतिपक्ष एमालेका सांसदले यही साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:०१
Weather Update