News Griha :: न्यूजगृह
यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका निर्णयहरू

काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । काठमाडौंमा पाँच दिनसम्म चलेको बैठकले २५ वटा समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपश्चात उनले ‘जनतामा माओवादी विशेष रुपान्तरणको लागि अभियान’ भन्ने नारासहित तीन महिने महाअभियानमा जनताको घर घरमा आठौं राष्ट्रिय महाधिवेशनको मर्मलाई राख्ने, केन्द्रीय समितिको मर्मलाई राख्ने र प्रचार गर्ने निर्णय भएका पनि बताए ।

उनले भने, ‘३ महिनाको महाअभियान सुरु गरेर हामी अगाडि जाने प्रस्ताव सर्वसम्वत पारित भएको छ । यो तीन महिने अभियानको नाम जनतामा माओवादी विशेष रुपान्तरणको लागि अभियान भन्ने नारा छ । भदौ १६ गते यसको सुरुआत हुन्छ, अभियानमा जनताको घर घरमा जाने आठौं राष्ट्रिय महाधिवेशनको मर्मलाई राख्ने, केन्द्रीय समितिको मर्मलाई राख्ने, प्रचार गर्ने निर्णय भएको छ ।’

यस्तै कार्य विभाजनको रुपमा महाराले समाजवादी मोर्चा र पार्टी एकता हेर्ने, अग्निप्रसाद सापकोटा प्रचार विभाग र प्रवक्ताको भूमिकामा रहने, जनवर्गीय संगठन मध्ये शिक्षक, कर्मचारी, प्राध्यापकलगायत दिनानाथ शर्माले हेर्ने र बाँकी सबै पम्फा भुसालले हेर्ने तय भएको पनि बताए ।

उनले भने, ‘अभियानको लागि एउटा दस्तावेज तयार पारेका छौं, त्यो दस्तावेज अभियानमा बाढिन्छ । यसको साथै अध्यक्ष आफैं सात प्रदेशको सात वडामा जानुहुन्छ । सबै सदस्यहरु कम्तिमा एउटा वडा लिने भनेका छौं । कार्य विभाजन भएको छ, त्यसमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सरकारमा भएको नाताले सरकारको मुख्य काम हुने र समग्र पनि हेर्ने । कृष्ण बहादुर महाराले समाजवादी मोर्चा र पार्टी एकता हेर्ने, अग्निप्रसाद सापकोटाले प्रचार विभाग र प्रवक्ताको भूमिकामा रहने, जनवर्गीय संगठन मध्ये शिक्षक, कर्मचारी, प्राध्यापकलगायत दिनानाथ शर्माले हेर्ने बाँकी सबै पम्फा भुसालले हेर्ने तय भएको छ ।’

३ महिनाको लागि इन्चाजहरुको भूमिकामा प्रदेश नम्बर १ मा बलदेव चन्द्र खनाल, मधेस प्रदेशमा लिलामणि पाखरेल, बाग्मती प्रदेशमा जनार्दन शर्मा, गण्डकी प्रदेशमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिममा डिलाराम आचार्य तोकिएको पनि उनको भनाइ छ । उनले बैठकमा करिब २५ वटा जति समसामयिक प्रस्ताव पारित भएका पनि बताए ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २०:३०
Weather Update