
सिरहा— मधेस प्रदेशमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा कमी आएको छैन ।
बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरू दिनदिनै बढिरहेका छन् । केटी पक्षले भने जति दाइजो नदिएकै निहुँमा मधेसमा महिलाको हत्यासम्म हुने गरेको छ ।
बढ्दो दाइजो प्रथा र महिला हिंसा न्यूनीकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द्र, नेपाल (सीडीडव्लूएन) ले मधेस प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरूमा 'लैङ्गिक हिंसा' सम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ ।
नेपाली समाजमा गहिरो गरी गढेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ देखाएको छ। छोरा नपाएकै कारण बाबुआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
भनेजती दाइजो नल्याउने र छोरी मात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ । मधेसमा दाइजो नल्याएकै कारण श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहाेर्नुपर्ने देखि हत्यासम्म हुने गरेको तितो सत्य हो । जसलाई नाटकले प्रस्ट पारेको छ ।
विशेष गरी मधेसी समाजमा भने जति दाइजो नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्त्वका साथ नाटकले दर्साएको छ। सामाजिक कुसंस्कारको रूपमा रहेको दाइजा प्रथा, छोरी जन्माएको कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्साएको छ ।
समाजमा कुरीतिको रुप लिँदै गरेको दाइजा प्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा र मानवीय कलङ्कको रूपमा रहेको छुवाछुत प्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरूमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक सञ्चिता महर्जनको भनाई छ ।
आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटकको मुख्य भूमिकामा सिरहाका चर्चित कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनिल लामा, टुना आले मगर, विजय साहसहित दर्जन बढी कलाकारले नाटकमा अभिनय गरेका छन् ।
नाटक सिरहाको धनगढीमाई, गोल बजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा प्रदर्शन गरिएको छ । त्यसैगरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ ।
मुकेश कुमार यादव/न्युज कारखाना