News Griha :: न्यूजगृह
मानव अधिकार उल्लंघनमा संलग्नलाई आममाफी दिन सकिँदैन : रमेश लेखक

काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले संसदमा पेश गरिएको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । 

उनले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नलाई आम माफी दिने गरी सरकारले ल्याएको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार भएको बताएका हुन् ।

आइतबार काठमाडौंमा संसदमा प्रस्तुत ‘केही नेपाल ऐन संशोधन विधेयक’हरूका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि बढ्ने बताए ।

प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानूनको शासन पनि जिवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले उक्त विधेयक संसदबाट पारित गराउने बताए ।

‘यो संक्रमण कालीन न्यायसँग सम्बन्धित विधेयक र अहिले जुन केही नेपाल ऐन संशोधन गर्नका लागि प्रस्तुत गरिएको विधेयकमा माफी दिने व्यवस्था गरी ल्याएको बीचमा फेरि यी दुई विधेयकबीचको तालमेल होइन, वास्तवमा द्वन्द्व कालीन समयमा घटेका घटनामा पनि यो संशोधनले माफी दिने हो कि भनेर चिन्ता व्यक्त गरिएको छ,’ उनले भने, ‘त्यो चिन्ता जायज छ, यसबारे हामी गम्भिरतापूर्वक सोच्छौँ ।’

प्रमुख सचेतक लेखकले मुलुकमा मानव अधिकार, कानूनको शासन र दण्डहिनताको अन्त्य गर्ने कुरामा आफूहरू सदैव सचेत रहेको दाबी गरे ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:३८
Weather Update