News Griha :: न्यूजगृह
नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भइसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशतभन्दा बढी हिन्दुहरू भएको नेपाल धर्म निरपेक्ष नभएर हिन्दु राष्ट्र बनाउन ढिला भइसकेको बताएका हुन् । हिन्दु परम्परा, गौरव र संस्कृतिलाई हिन्दु आफैंले बोक्नलाई लाज मान्न थालेको भन्दै उनले असन्तुष्टि जनाए ।

हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नु पर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म, परम्परा, संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौँ ।’

उनले धार्मिक संघ संस्थामा रहेका अगुवाहरूले समेत धर्म निरपेक्षलाई अवलम्बन गरेका प्रति असतुष्टि पोखे । ‘धार्मिक संघ संस्थामा हिन्दु धर्मसँग सम्बन्धित अगुवाहरू र कति ठाउँमा गुरुहरूसमेत ठिकै छ, धर्म निरपेक्ष भएर के छ र ?, पूजाआजा गर्न पाएकै छौँ, पुराण भन्न पाएकै छौँ,’ उनले भने ।

‘मन्दिर जान पाएकै छौँ, केही बिग्रेको छैन, तपाईंहरू गर्दै गर्नुहोस् भन्नेहरू पनि हुनुहुन्छ, म फेरि भन्छु ढिलो हुने छ हामी सबैमा जागरण र चेतना आओस्,’ उनले थपे । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:०८
Weather Update