
काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन । उनीहरूले संसद बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरे ।
संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
उपमहासचिव तुलाधरले भने, ‘संसदलाई संसद जस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तुको उठान गर्ने जस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले के भूमिका ग¥यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा कुरा उठेका छन् ।’
शनिबारबाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । एकीकृत समाजवादीले पार्टीको आसन्न १० औँ महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो ।
उपमहासचिव तुलाधरका अनुसार अब भदौं पहिलो साता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्ने छ ।













