घर फर्किंदै गर्दा डुंगा डुब्दा आठ जनाको मृत्यु

काठमाडौं— बंगलादेशमा वनभोज खान खाएर घर फर्केकाहरू चढेको डुंगा डुब्दा आठ जनाको मृत्यु भएको छ ।
राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा डुंगा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् ।
‘अहिलेसम्म स्थानीयबासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,’ फारुकले भनेका छन् ।
खोजमाा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको डुंगा राति आठ बजे नदीमा बालुवाले भरिएको डुंगासँग ठोक्किएर पल्टिएको थियो ।
नदी किनारमा डुंगा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए । चार जनालाई जीवितै उद्धार गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १४:५२













