
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सेप्टेम्बरको तेस्रो–चौथो साता प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने जानकारी दिएका हुन् । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’
उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे ।
वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धी हासिल भएको दाबी गरे ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनु पर्ने धारणा व्यक्त गरे ।













