काठमाडौं— नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले दलालका पछाडि रहेर पूँजीपति वर्गले नेताहरूसँगको सेटिङमार्फत नियतबस व्यापार, व्यवसाय र उद्योग धन्दा निश्चित संभ्रान्त परिवारभन्दा बाहिर लान नखोजेको आरोप लगाएका छन् ।
भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति, ओम्नी जस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिँदै नेपालमा दलालका पछाडि बसेका पूँजीपतिले उद्योगधन्दालाई उनीहरूको पहुँचभन्दा बाहिर लान नदिएको आरोप लगाए ।
‘ओम्नी भनेको कमन हो, हिजो स्वास्थ्य विभागबाट सम्झौता गरेर चाइनाबाट औषधि खरिद गरियो, औषधिको अन्तर्राष्ट्रिय रुपमै सटेज थियो, चाइनाबाट फ्रान्स लान खोजेको औषधि अमेकिरकाले बीचैमा पाँच गुणा महंगो पैसा लिएर गयो,’ उनले भने, ‘अनि हाम्रो स्वास्थ्य विभागले चाहिँ महंगो भनेर सम्झौता रद्द गर्यो, अनि ओम्नी...ओम्नी...ओम्नी... भन्या छन्, गलत गरे छानबिन गर्नु भनिराछौँ– हामी, यति मात्रै होइन गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अर्बौं लगानी गरेर आज गोकर्ण रिसोर्ट, इज्जतको ठाउँ बनाएको छ ।’
एमाले नेता बस्नेतले यति लिज प्रकरण तथा ओम्नी भ्रष्टाचार काण्डमा समेत जनता, मिडिया र सामाजिक सञ्जाल वास्तविकता नबुझी बहकिएको आरोप लगाए ।
‘एउटा नेपाली शेर्पाले यहाँ व्यवसाय गर्न खोज्छ, चन्द्र ढकालले चन्द्रागिरीमा त्यत्रो गरे यहाँ व्यवसाय गर्न खोजिराको छ, चाइने नचाइने हल्ला गरेको छ, के भन्या छन्, यत्रो लिज भन्या छन्, नियतबस निश्चित संभ्रान्त परिवारले बाहिर व्यापार, उद्योग र व्यवसाय लान खोजेको छैन्,’ उनले थपे, ‘त्यसमा निश्चित दलाल व्यवसायी उद्योगपतिहरूले नेताहरूलाई सेटिङ गरिराछन्, हामी जनता कुरा बुझेका छैनौँ, त्यत्तिकै कराको छौँ, मिडिया त्यसै कराइदिया छ ।’
त्यस्तै, बस्नेतले सुनलगायतका प्रकरणमा एमालेलाई हल्लै हल्लाको जुठो बनाएको भन्दै भ्रमको पछि नलाग्न जिकीर गरे । उनले नेकपा माओवादी केन्द्रका प्रभावशाली मानिएका नेता तथा तिनका छोरालाई चोखो बनाइएको भन्दै त्यसप्रति व्यङ्ग्य गरे ।
उनले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने दाबी गरे । उनले नयाँ आएका पार्टीहरूलाई रछ्यानमा पलाएको मुलाको सागको संज्ञा दिए ।













