बाँदर आतंकको तस्बिर फेसबुकमा पोस्ट गर्दै ओलीले भने— मन पोलिरह्यो

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँदर आतंकको समस्या समाधान हुनेगरी कदम चालिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा आइतबार बाँदर आतंकसम्बन्धी तस्बिर पोस्ट गर्दै ओलीले समस्या समाधान हुनेगरी कदम चालिनुपर्ने बताएका हुन् ।
‘तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतंकको कारुणिक तस्बिरमा आँखा पुगे’,ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,‘हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो । उहाँले तस्बिर पोस्ट गर्दै लेख्नुभएको रहेछ— यसबारे पनि केही बोल्नु । हो,अवश्य । बोल्नै पर्छ । बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नुपर्छ ।’
कहिलेकाहिँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र नभई यस्ता साझा समस्याका तस्बिर पनि आउने ओलीको धारणा छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०९:२४













