News Griha :: न्यूजगृह
एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र नौ शिक्षकलाई नगदसहित सम्मान

काभ्रे— काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रालाई जनही एक लाख रुपैयाँद्वारा सम्मान गरेको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा एसईई परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्रकाश मावि भुम्लुटारका सन्देश उप्रेतीलाई जनही एक लाखद्वारा संयुक्तरूपमा सम्मान गरेका हुन् ।

यस्तै गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसईई परीक्षामा औसत सर्वोत्कृष्ट अंक ल्याउने विषयगत नौ शिक्षकलाई पनि जनही २५ हजारका दरले सम्मान गरिएको छ ।

कार्यक्रममा भुजेल र लामाले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति ऊर्जा एवम् प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसईईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताए ।

गाउँपालिकाभित्र सर्वोत्कृष्ट छात्रा खड्काले तीन दशमलव २० र छात्र उप्रेतीले तीन दशमलव ५५ अंक प्राप्त गरेका थिए । गाउँपालिकाका दुई सय विद्यार्थीले २०७९ सालको एसईई परीक्षा दिएका थिए ।

यसैगरी जिल्लाको रोशी र तेमाल गाउँपालिकाले पालिकाभित्रबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेका छन् ।

रोशीमा गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई प्रोत्साहनस्वरुप ५० हजारका दरले नगदसहित सम्मान गरेका छन् ।

तेमालको वडा नं २ मा माध्यमिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गरेका तीन विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही ५० हजार प्रदान गरिएको वडाध्यक्ष देव तामाङले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:४२
Weather Update