News Griha :: न्यूजगृह
शिक्षा ऐन द्रुत गतिमा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय शिक्षासम्बन्धी ऐन छिट्टै आउने बताएकी छिन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेनस नेपाल (प्याब्सन) काठमाडौं शाखाले केही दिनअघि आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

ऐन निर्माण कार्य  द्रुत  गतिमा अघि बढिरहेको बताउँदै उनले २०२८ सालमा बनेको शिक्षा ऐनले अबको विद्यालय शिक्षालाई अघि बढाउन नसकिने स्पष्ट गरिन् ।

विद्यालय शिक्षासम्बन्धी विधेयकलाई प्रतिनिधि सभामा पठाउन हालै मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउँदै सञ्चारमन्त्री शर्माले भनिन्, ‘हाम्रो लक्ष्य समाजवाद हो। यसको अर्थ शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ भन्ने नै हो ।’

मुलुकको शिक्षा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले शिक्षण सिकाइसम्बन्धी क्रियाकलाप सञ्चालन गर्न एक्लो सरकारका लागि कठिन हुने हुँदा निजी क्षेत्रको पनि उत्तिकै भूमिका रहने धारणा व्यक्त गरिन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०६:३०
Weather Update