News Griha :: न्यूजगृह
संघर्षबिना अधिकार प्राप्ति सम्भव छैन : मन्त्री मोदी

ललितपुर— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघर्षबिना अधिकार प्राप्ति सम्भव नभएको बताएका छन् ।

विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा तराई मधेश राष्ट्रिय परिषदले आयोजना गरेको परिवर्तनको सम्बाहकको रुपमा आत्मनिर्णयको लागि आदिवासी युवाको भूमिका विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘अधिकार प्राप्त गर्ने भन्ने विषय सामान्य होइन, भाषण गर्दैमा अधिकार प्राप्त हुँदैन,’ उनले भने, ‘अधिकार प्राप्तिका लागि हरेक खालको संघर्षमा जान जरुरी छ ।’

मन्त्री मोदीले संघर्षका विभिन्न स्वरुप हुने समेत प्रष्ट पारे । ‘संघर्षका विभिन्न मोडल छन्, एउटा मोडल भनेको संघर्षबाट राज्य सत्ता कब्जा गर्ने हो, अर्को भनेको चुनावी मैदानमा गएर आफ्नो एजेण्डालाई संस्थागत गर्ने हो,’ उनले थपे, ‘आदिवासीहरूको थप अधिकार प्राप्तिका लागि यी सबै खाले संघर्ष आवश्यक छ ।’ 

मन्त्री मोदीले देशभित्रका आदिवासी जनजातिबीच एकताको खाँचो रहेकोसमेत बताए । पूर्वदेखि पश्चिमसम्मका सबै जनजातिहरू एक भएर अगाडि बढ्दा मात्रै लक्ष्यमा पुग्न सम्भव हुने उनको भनाइ थियो । 

मन्त्री मोदीले आदिवासी जनजातिको अधिकारको पक्षमा लडेको पार्टी माओवादीलाई मत नदिएकोप्रति लक्षित गर्दै भने, ‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइदैन, भोट दिनेबेला आदिवासी जनजातिको एजेण्डा उठाउनेलाई दिनुपर्ने थियो, दिनुभएन, अब अहिले अधिकार खोजेर पाइदैन पनि ।’

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:१७
Weather Update