
काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नु पर्ने बताएका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि धारणा राख्दै उनले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ जरुरी रहेको बताएका हुन् ।
‘भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नु पर्छ, यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो, यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनु पर्छ,’ उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।’
पार्टी पुनः निर्माणको ऐतिहासिक सम्भावना रहेको रहेको उनले पार्टीलाई रुपान्तरण गर्दै लैजानु पर्नेमा जोड दिए ।
अर्का उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनले पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु पर्छ भनेर आफूले पहिलेदेखि आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै गुनासो गरे ।
पार्टीलाई जनतासँग जोड्नु पर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनु पर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नु पर्नेमा उनले जोड दिए ।
‘पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नु पर्छ, नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नु पर्छ,’ उनले भने, ‘समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नु पर्छ ।’
उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एक तिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनु पर्नेमा जोड दिए ।













