News Griha :: न्यूजगृह
तस्करी र भ्रष्टाचार प्रकरणमा सरकारले जनताको विश्वास जित्न सकेन : गुरु घिमिरे

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले अहिलेसम्मका विभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने मात्र काम गर्न नहुने बताए । उनले यस्ता प्रकरणमा सरकारले जात्रा मात्र देखाउने मात्र काम गरेको भन्दै टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताए ।

‘कुनै पनि छानविनको जनताले विश्वास गर्न सक्या छैन, फाइल खोल्ने काम मात्रै होइन् पूर्वाग्रह नराखेर यसको टुङ्गो लगाउनु पर्छ,’ उनले भने, ‘राजनीतिकबाटै संरक्षित भयो, अपराध कर्म, संरक्षित नभएको भए देशलाई यस्तो प्रभाव पर्ने भ्रष्टाचार हुँदैन् थियो ।’

केन्द्रीय सदस्य घिमिरेले नेपालमा अभाव नै नभएको भने सरकार भएको बताए । उनले ७५३ वटा सरकार, सात सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचारको प्रकरण कति हुन्छ त्यो पनि प्रष्ट भएको बताए ।

‘स्वास्थ्य सेवा विभागले ३४५ करोडको सामान खरिद गरेको रहेछ, गत वर्ष त्यसमा झण्डै दुई सय करोड जति भ्रष्टाचार हुने किनभने पाँच लाख पर्ने सामान १८ लाखको दरले किनिएको छ,’ उनले भने, ‘यसमा ६० प्रतिशतभन्दा बढी भ्रष्टाचार भएको छ, औषधि माफियासँग मिलेर बिल तयार गरिने रहेछ ।’

देशको स्वास्थ्य क्षेत्रमा राजनीतिक नेतृत्वले ध्यान दिनु पर्ने बताउँदै स्वास्थ्य मन्त्रीले जनतालाई सकारात्मक प्रभाव पर्ने काम गर्न सक्नु पर्ने बताए 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:४२
Weather Update