News Griha :: न्यूजगृह
कोटेसनबाट लुटेर खानेहरूको स्वास्थ्य क्षेत्रमा राज छ : अध्यक्ष बस्नेत 

काठमाडौं— नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्यमा हुने ब्रम्हलुटको बारेमा धेरै निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएको बताएका छन् ।

शनिबार स्वास्थ्य क्षेत्रमा भइरहेको भ्रष्टाचारबारे जानकारी दिन तथा सरोकारवालासँग स्वास्थ्य संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कोटेसनबाट लुटेर खानेहरूको स्वास्थ्य क्षेत्रमा राज रहेको बताए ।

‘कोटेसन भनेको लुट हो, २० लाखसम्म स्वास्थ्यको सामान किन्न पाइन्छ, तर २ लाखको पनि किन्दैन्, सबै कागजपत्र मिलाएर पैसा खान्छ,’ उनले भने, ‘त्यसपछि उजुरी गरेका छौँ स्वास्थ्य मन्त्री, कानून मन्त्री, मन्त्री परिषद्, रवि लामिछाने, एमाले, माओवादीका शीर्ष नेता, विप्लव सबैलाई भेटेर कुरा राख्दा पनि केही भएको छैन, कुनै पनि पार्टीमा स्वास्थ्यसम्बन्धी बुझेको मान्छे नै छैन कि, सेटिङ्मा बसेको हो की जस्तो लाग्छ ।’

स्वास्थ्यलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा राखेको छ भनेर ठूला ठूला भाषण गरेर भोट माग्दै हिँड्दा जनताले मुखभरिको जवाफ दिने अवस्था आउने चेतावनी दिँदै अध्यक्ष बस्नेतले साना साना रोगका कारण पनि जनताले मर्नु पर्ने अवस्था रहेको बताए ।

‘धेरै पढेको तर चाकरी नगर्ने डाक्टर गाउँमा नै हुन्छन्, यहाँ आउने सबै भ्रष्ट हुन्छन्, चिकित्सकहरूलाई संस्थाको कार्यकारी जिम्मेवारी दिनु हुँदैन्, स्वास्थ्य क्षेत्रमा कुनै विज्ञ आएर बसेका छैनन्,’ उनले भने, ‘केन्द्रदेखि प्रदेशमा मन्त्रीको निर्देशनमा एउटा वरिष्ठ व्यक्ति संयोजक बनाएर सार्वजनिक खरिद अनुगमन तथा राय सुझाव समिति जिल्ला, केन्द्र, प्रदेशमा हुनु पर्छ, दक्ष जनशक्ति र निजी क्षेत्रको पनि संलग्नता गरेर समितिमा बन्नुपर्छ ।’

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:२३
Weather Update