
झापा— जिल्लाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु पर्नेलगायत माग राखेका छन् । चिया मजदुर आवद्ध संगठनले सो मागसँगै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् ।
श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागू गर्नुपर्ने कृृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । तीन वर्षदेखि चिया श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको उनको भनाइ थियो ।
श्रम ऐन, २०७४ मा श्रमिकले दैनिक पाँच सय ७७ रुपैयाँ ज्याला पाउने उल्लेख भए पनि बगान र प्रतिष्ठानमा कार्यरत श्रमिकले चार सय ३७ रुपैयाँ मात्र पाउँदै आएको उपाध्यक्ष राईले बताए ।
‘सरकारले तोकेको दैनिक ज्याला र सुविधा नपाउँदा चिया मजदुर भोकै पर्ने अवस्था आएको छ,’ उनले भने । बीस वर्षदेखि कार्यरत श्रमिकको रोजगारी, स्वास्थ्य, पेन्सन र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ ।
दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनु पर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नु पर्ने श्रमिकको माग छ ।
झापामा १३२ साना र ६९ ठूला तथा संस्थागत चिया बगानमा गरी ७० हजार श्रमिक कार्यरत छन् । जिल्लामा १० हजार हेक्टरमा चिया खेती हुने गरेको तथ्यांक छ ।













