News Griha :: न्यूजगृह
मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी क्षतिपूर्ति दिन प्रधानमन्त्रीसमक्ष जनमतको ६ बुँदे माग

काठमाडौं— जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो ।

पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्रीसँग सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन् । खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न उनको माग छ । 

वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको उपाध्यक्ष खानले बताए ।

यस्ता छन् प्रधामन्त्रीसँग जनमतका मागहरू

१, मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नु पर्ने,

२, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घर-घरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्ने,

३, सुकेका बालीनालीको उचित क्षतिपूर्तीको व्यवस्था गर्नु पर्ने,

४, सिचाईको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने,

५, पानीको अभावले विरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने,

६, खडेरीसहितका प्राकृतिक प्रकोपहरुको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नु पर्ने ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १३:२४
Weather Update