News Griha :: न्यूजगृह
गरिबी हटाउने योजना बनाउन खोज्दा केपी ओलीले रोके : घनश्याम भुषाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले केपी शर्मा ओलीको अवरोधका कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको बताएका छन् ।

समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुषालले मुलुकबाट गरिबी हटाउने आफूहरूको लक्ष्य र योजनाको डीपीआर बनाउन ओलीले नदिएको दाबी गरे ।

‘राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो, यसमा काम गर्नु पर्छ भन्ने हाम्रो विचार थियो, तर ओलीले त्योतर्फ नजाने भन्नुभयो, अबको १० वर्षमा गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत समस्यामा पार्नु भयो,' उनले भने, 'आज राजनीतिक अस्थिरता किन छ भने हामीले भनेअनुसार योजनाको डीपीआर बनाउन र लागू गर्ने बाटोलाई ओलीले रोकेकाले भएको हो ।’

समाज परिवर्तन गर्ने हो भने युवाहरूलाई अगाडि बढाउनु पर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति चार जना भए पनि अगाडि बढ्न बढी संख्या नचाहिने उनको भनाइ थियो ।

‘एउटा राम्रो अभियान सुरु गर्न सक्यौँ भने पाँच वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरू सम्पन्न गर्छौं, त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ, यसले हामीलाई सक्षम बनाउन सक्छ,' उनले भने, 'राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउन सक्छौँ, तर जब ओलीले संसद विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौँ ।’

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:३८
Weather Update