News Griha :: न्यूजगृह
सुख्खा क्षेत्रमा राहत उपलब्ध गराउन जनमत पार्टीको माग
फाइल तस्बिर

काठमाडौं— जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

उक्त पार्टीले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घर–घरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको जनमत पार्टीका उपाध्यक्ष खानले बताए ।

यस वर्ष तराई–मधेसमा अन्यन्त न्यून वर्षा भएर खडेरी परेको छ । भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेसका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीको हाहाकार मच्चिएको उनले बताए । 

उनका अनुसार खानेपानीका परम्परागत स्रोत इनार र चापाकल सुकेर पानी नआउँदा वीरगञ्जलगायतका स्थानमा पिउने पानीको ठूलो समस्या परिरहेको छ ।

खडेरीका कारण तराई–मधेसको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उपाध्यक्ष खानले पानी नपरेको अवस्थामा वैकल्पिक सिँचाइको व्यवस्था नहुँदा किसानले धान खेती लगाउन नसकेको बताए । मधेका अधिकांश खेत बाँझै रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:१०
Weather Update