
काठमाडौं— जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर बिक्री गर्ने पसलहरूमा छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वमा गएको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो ।
नेपाल सरकारको अनुदान प्राप्त रासायनिक मल कालो बजारी गरी बिक्री गरेको उपभोक्ताको गुनासो आउने बित्तिकै जिप्रका भक्तपुरको टोलीले उक्त पसलमा छापा मारेको हो । यस क्रममा गैरकानुनी रुपमा भारतबाट ल्याएको अवैध मल २१ सय रुपैयाँ बिक्री गरेको पाइएपछि मल बरामद गर्दै पसल सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रजिअ रिजालले भने, ‘उक्त मल पसलबाट कालोबजारी गरी महँगो मूल्य लिएर बिक्री गर्दै गरेको अवैध एक सय २९ बोरा रासायनिक मल बरामद गरेका छौँ, त्यसमध्ये २० वटा बोरामा कृषि सामग्री लिमिटेड लेखिएको छ, अरू बोरामा नेपालमा बिक्री वितरण गर्ने भनी उल्लेख गरिएको छैन, त्यस्तो मल अवैध हो, त्यस मल पसललाई सिलबन्दी गरी थप अनुसन्धान सुरु गरेका छौँ ।’
जिल्ला प्रशासनको टोलीलाई मल बिक्रेता कटुभाजुले मल खरिदको बिल समेत देखाउन नसकेको जानकारी दिँदै उनले मल बिक्री गर्दा एग्रो वल्र्ड ललितपुर लेखिएको बिल दिने गरेको पाइएकाले आवश्यक कारबाही गरिने बताए ।
जिप्रका भक्तपुरले धान रोपाइँको समयमा मल अभाव देखाउँदै कालो बजारी गर्ने गरेको पाएपछि भक्तपुरका मल पसलहरुमा अब आकस्मिक अनुगमन गर्ने अभियान नै सञ्चालन गर्ने भएको छ । कालो बजारी गरेर कतै मल बिक्री गर्ने गरेको पाइए तत्काल खबर गर्न उपभोक्तालाई आग्रह गरेको छ ।













