News Griha :: न्यूजगृह
एमालेले चाहे केही दिनकै गठबन्धन भत्किन्छ : पौडेल

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । 

शुक्रबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो दाबी गरे । नेता पौडेलले एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको भन्दै तर आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको स्पष्ट पारे ।

'अहिले म तिथि मितितिर जान्न । मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ । एमाले लाग्यो भने त्यो केही दिनको विषय हो', उपाध्यक्ष पौडेलले भने, 'यसरी वा त्यसरी जे होस् कुनैपनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदि एमालेले त्यो आवश्यकता महसुस गर्‍यो भने केही हप्ताको काम हुन्छ ।'

वर्तमान संसद्ले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताउँदै पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफूहरू लागेको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:३९
Weather Update