News Griha :: न्यूजगृह
माओवादी बैठकमा ६८ केन्द्रीय सदस्यले धारणा राखे

काठमाडौं— नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवम् संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको मूल मर्मभित्रै रहेर सदस्यहरुले धारणा व्यक्त गर्नुभयो’,प्रवक्ता महराले भने,‘अधिकांश सदस्यले पार्टी रुपान्तरण, जनतालाई पार्टीसँग जोड्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।’

सबै केन्द्रीय सदस्यले पार्टी जनताको माझमा जानुपर्ने, प्रतिबद्धताअनुसार काम गर्नुपर्ने, पार्टी निर्माण र विस्तार गर्नुपर्छ भन्नेमा जोड दिएका थिए । बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका थिए । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य,अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । बैठक शनिबार बिहान ११ बजे पुनः बस्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १९:२७
Weather Update