काठमाडौं— नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनः निर्विरोध अध्यक्षमा चयन गरेको छ ।
उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरूमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् ।
सभाले कोभिडको समयमा निजी कम्पनीको अक्सिजन उद्योगबाट ठूलो परिमाणमा सिलिण्डर लगेर हालसम्म फिर्ता नगरेकाले उद्योगहरूलाई आर्थिक नोक्सानी भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
यसैगरी संघले अक्सिजन सिलिण्डरको गुणस्तर मापदण्डसम्बन्धि आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।
सभामा नवर्निर्वाचित अध्यक्ष शारदाले आगामी दिनमा लिक्विड अक्सिजनको आयातमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए । देशभर सञ्चालनमा रहेका २८ वटा अक्सिजन उद्योगहरूको भविष्य धरापमा पारेर लिक्विड अक्सिजन आयातले निरन्तरता पाए अक्सिजनमा नेपाल भारतमा निर्भर हुनु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने उनको भनाइ थियो ।













