
तनहुँ— विं.सं. ०७८ फागुन २७ गते स्थापना भएको यातायात व्यवस्था कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
बन्दीपुर गाउँपालिका–४ विमलनगरमा सञ्चालनमा रहेको कार्यालयमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
दरबन्दीअनुसारका कर्मचारको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नु पर्दा समस्या हुने गरेको कार्यालयका निमित्त प्रमुख कुशल सुवेदीले बताए ।
सुवेदीले दरबन्दीअनुसारको कर्मचारी अभावमा कार्यालय सहयोगीलाई राजस्वको जिम्मा दिइएको बताए । उनले भने, ‘ट्रायल, लिखित परीक्षा र कार्यालयको कामकाज सञ्चालन पनि उत्तिकै गाह्रो भइरहेको छ ।’
कार्यालयले आव २०७९/८० मा १८ करोड ७५ लाख ६४ हजार ७१७ राजस्व संकलन गरेको छ । आव २०७८/७९ मा कार्यालयले १३ करोड ८४ लाख २१ हजार ३५६ राजस्व संकलन गरेको थियो ।
पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी ११ कर्मचारी कार्यरत छन् ।
कार्यालयमा राजपत्राङ्कित तृतीय एक, अधिकृतस्तर छैटौँ दुई, सहायकस्तर पाँचौँ एक, सहायक पाँचौँ (करार) तीन, कार्यालय सहयोगी एक, हलुका सवारी चालक एक तथा श्रेणीविहीन र ज्यालादारीमा एक/एक कर्मचारी छन् ।
कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो । जिल्लाबाटै ट्रायल सेवा सुरुभएपछि सेवाग्राहीलाई सहज भएको छ ।
कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।
विं.सं. २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयका रुपमा काम गर्दै आइरहेको कार्यालय विं.सं. २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो ।
सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर संकलन, बाटो इजाजतपत्र, जाँच पाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता तथा नामसारी सेवा दिँदै आएको छ ।













