News Griha :: न्यूजगृह
पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न पालिकाको माग

काभ्रे— जिल्लाको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् । 

नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन् । 

नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिक रुपमा विकट रहेका महाभारत, रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीलाई नापी र मालपोत कार्यालय, राष्ट्रिय परिचय पत्र र मतदाता नामावलीसम्बन्धी सेवा लिन हाल धुलिखेलमा आउनु पर्छ ।  

पालिकालाई पायक पर्ने स्थानमा कार्यालय स्थापना गर्न संयुक्तरुपमा अनुरोध र पहल गर्ने निर्णय भएको नमोबुद्ध नगरपालिकाका प्रवक्ता टीकाबहादुर केसीले बताए ।

‘यस क्षेत्रका बासिन्दाको मागअनुसार तीनवटा नै पालिकालाई पायक पर्ने स्थानमा सो कार्यालय स्थापना गर्न अत्यावश्यक छ,’ उनले भने, ‘ती कार्यालय स्थापना र संवैधानिक अधिकारअनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्त रुपमा अनुरोध र आवश्यक पहलसमेत गर्ने निर्णय गरेको हो ।’ 

बैठकले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा न्यूनीकरण, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित नमोबुद्ध, रोशी र तेमालको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै सञ्चालन गर्न संयुक्त रुपमा पहल गर्ने निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:२७
Weather Update