दोलखा पहिरोमा घाइते भएका दुई जनालाई काठमाडौं ल्याइयो

दोलखा— जिल्लाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीलाई उपचारका लागि शुक्रबार दिउँसो काठमाडौं ल्याइएको हो । उनीहरूकी बुहारी २२ वर्षीय सीता थामीको दोलखाको सिँगटी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोमा परी एक नाबालक प्रिन्स थामीको मृत्यु भइसकेको छ । घटनामा स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीय देवीमाया मगर बेपत्ता छन् ।
गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारमा घर पुरेको थियो । पहिरोले घर पुर्दा घटना भएको हो । पहिरोमा हराएकाको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १३:१४













