यी हुन् दोलखा पहिरोमा बेपत्ता हुनेहरू, १५ महिने बालकको शव फेला

दोलखा— जिल्लामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिका–८ टोपाटारमा गए राति पहिरो गएको हो ।
अविरल वर्षासँगै गौरीशंकर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।
पहिरोमा बेपत्ता हुनेमा गौरीशंकर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए । पहिरोमा परी तीन जना घाइते भएका छन् ।
बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० ११:१५













