News Griha :: न्यूजगृह
४० हजार शिक्षकलाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव

काठमाडौं— विद्यालय शिक्षासम्बन्धी विधेयकमा ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको छ ।

मंगलबार (१६ साउन) बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएकाे विद्यालय शिक्षासम्बन्धी विधेयकमा साे प्रस्ताव गरिएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको हाे ।

विधेयकमा साविकको उच्च माध्यमिक विद्यालय (कक्षा ११/१२) को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको छ । सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ ।

मन्त्रालय स्राेतले दिएको जानकारी अनुसार ‘विधेयक पारित भएमा दुवै किसिमका गरी एकै पटक ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान हुनेछ ।’

मन्त्रालयको भनाइमा सबै पदमा खुल्ला प्रतिस्पर्धा नभई खुल्ला र आन्तरिकका लागि निश्चित प्रतिशत छुट्याइएको छ ।

सो विधेयकलाई संसदमा टेबुल गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०८:४७
Weather Update