
काठमाडौं— प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहका भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित गरेको छ । विशेष कारण देखाउँदै सीटीभीटीले सम्पूर्ण प्रवेश परीक्षाको मिति परिवर्तन गरेको हो ।
आज सूचना प्रकाशित गर्दै सीटीभीटीले साउन २४ र २६ गते सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा डिप्लोमा/प्रमाणपत्र तह वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फको र प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फको प्रवेश परीक्षा आगामी भदौ २ गते बिहान ८ बजेदेखि र दिउँसो १ बजेदेखि क्रमशः सञ्चालन गर्ने निर्णय जनाएको छ ।
सीटीईभीटीले डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षा भदौ ६ गते बिहान ८ बजे र प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको परीक्षा सोही दिन दिउँसो १ बजेदेखि सञ्चालन गर्ने गरी स्थगित गरेको आज प्रकाशित सूचनामा उल्लेख गरेको छ ।














