माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं— दुई दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि जारी छ । आजको बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ ।
बैठकमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरासहित ५६ जनाले अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवम् संगठनात्मक प्रस्तावमाथि धारणा राखेका छन् ।
बैठकमा उनीहरूले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनःनिर्माणका पक्षमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका छन् ।
उनीहरूले नेताहरूको सम्पत्ति छानबिन र भ्रष्टचारका फाइल खोल्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरूले बोल्नेक्रम जारी छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० ०६:४६













