News Griha :: न्यूजगृह
एसईई परीक्षा सुरु
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मानसिंह धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनका लागि लामबद्ध भएर जाँदै विद्यार्थी ।

काठमाडौं— यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल ४ लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी रहेको एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

‘यस वर्षको एसईईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेका थिए । कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार दुई सय २७ जना रहे । कक्षा नौबाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन्,’ उनले भने ।

नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ छोराछोरीले जापानबाटै परीक्षा दिँदै छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एउटा शैक्षिक संस्थाबाट उनीहरु एसईई परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

see exam1680232467.jpg

परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५०  दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसईईमा सहभागी छन् । एसईईमा गत वर्ष देशभरबाट ५ लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षालाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गराउन परीक्षा बोर्डले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेशभित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने छन् ।

seex exam 20791680232725.jpg

जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले व्यवस्थापन तथा अनुगमन गर्नेछन् ।

देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए । चैत्र २९ गतेसम्म परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०८:५३
Weather Update