
काठमाडौं— सरकारले दुई अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिइन् ।
‘अर्थ मन्त्रालयको प्रस्तावमा खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोको लागि विश्व बैकबाट २० मिलियन अमेरिकी डलर करिब दुई अर्ब ६२ करोड बराबरको अनुदान साहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन् ।
त्यस्तै, बैठकले विश्व वातावरण सुविधा बापत प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।













