
काठमाडौं— सुदूरपश्चिम प्रदेशमा एक वर्षभित्र एक लाख १२ हजार ६५५ सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९–०८० मा एक लाख १२ हजार ६५५ सवारी साधन कारबाहीमा परेका हुन् ।
उक्त सवारी साधान कारबाहीबाट छ करोड ४३ लाख, ७० हजार राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
सबैभन्दा बढी मोटरसाइकल ४३ हजार ६४६ वटा कारबाहीमा परेका छन् । मोटरकसाइकलबाट दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व संकलन भएको छ ।
एक वर्षको अवधिमा २६ हजार ३३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार ४६१ ट्र्याक्टर, पाँच हजार ३३७ बस र आठ हजार ७७९ अन्य सवारी साधन कारबाहीमा परेका छन् । सवारी साधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा २५२ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी १९७ जना गम्भीर घाइते भएका छन् । यसैगरी, २७६ जना सामान्य घाइते भएका छन् ।













