काठमाडौं— दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ जना कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।
यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसी बताउँछन् । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनको भनाइ थियो ।
अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताए । उनका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ ।
'एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन,' प्रमुख केसीले भने, 'यही अवस्था रहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।'
थप छ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले बताउँछन् । 'हामीले धेरै माग गरेका छैनौँ, पाँच/छ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,' उनले भने ।
सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्य सम्पादन प्रभावकारी हुन नसकेको बताए । उनका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् ।
बागलुङस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले कर्मचारी अभावका कारण अतिरक्त समयमासमेत सेवा दिने गरिएको बताए । उनका अनुसार कार्यालयमा रहेका चार अस्थायी कर्मचारीको करार अवधि सकिएपछि नयाँ नियुक्ती हुन सकेको छैन । अहिले १९ जनाको दरबन्दी रहेकामा १२ कर्मचारी कार्यरत रहेका उनले जानकारी दिए ।
'चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा पनि बागलुङबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ,' थापाले भने, 'सेवा थप भएसँगै कर्मचारी पनि थप गर्नु पर्ने हुन्छ ।' उनका अनुसार अहिले दैनिक तीन सय सेवाग्राही आउने गरेका छन् ।













