घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

काठमाडौं— गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुंगेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् ।
करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।
मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १५:३५













