News Griha :: न्यूजगृह
एक वर्षमा अठासी हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार
फाइल तस्बिर

म्याग्दी— जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७९-८० मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको जानकारी दिएको हो ।

कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले ३१ वटा योजनामार्फत ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए । ‘म्याग्दीको खेती योग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नु पर्ने किसानको समस्या हटेको छ ।’

कार्यालयका सव इञ्जिनियर अञ्जन खत्रीले गत आर्थिक वर्षमा सात हजार ३३० मिटर पक्की नहर निर्माण र १४ हजार ३१८ मिटर पाइपलाइन जडान भएको जानकारी दिए । ती योजनाबाट तीन हजार १५७ जना किसान लाभान्वित भएका उनको भनाइ छ । 

गत आर्थिक वर्षमा कुल १६ करोड ३६ लाख रूपैयाँ पुँजीगत बजेट भएको खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन म्याग्दीले १२ करोड ८५ लाख ८० हजार रुपैयाँ गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार कूल ३० हजार ८५६ हेक्टर खेती योग्य जमिन रहेकोमा १९ हजार ४१९ अथवा ६३ प्रतिशतमा खेती भएको छ । कूल ११ हजार ३५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ । 

खेती भएकोमध्ये ३० दशमलव ८४ प्रतिशत अथवा छ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:००
Weather Update