
मुगु— संघीय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागि रेलिङ्गसहित २३० सिँढीहरू निमार्ण भएका छन् ।
छायाँनाथ रारा नगरपालिका–१ मेला रुखदेखि बजारसम्म रहेको पुरानो ठाडो उकालो गोरेटो बाटोलाई सुधार गरी मानिसहरूलाई बजार पुग्न सजिलो होस भनेर सघन शहरी विकास कार्यालयले सिँढीहरू बनाएको थियो ।
यी सिँढी निमार्ण भएपछि गमगढी बजारका दक्षिण तिर रहेका श्रीनगर, भामवाडा, चैन, बालै, घुइर, माथि घुइर, पिना, कोटिल्ला, मन्दु, जुक्यान, घट्लेख, तल्लेख गाउँका स्थानीयहरूलाई गमगढी-बालै-पिना सडकको मुलबाटोबाट बजार जान सजिलो भएको छ ।
पहिला घुमाउरो बाटो भएर बजार जाँदा मूल सडकबाट १५ देखि २० मिनेटसम्म लाग्ने गथ्र्यो अब सिँढीबाट जाँदा बढीमा ५ मिनेट लाग्ने गरेको स्थानीय लोकराज परिवारले बताए ।
पुरानो गोरेटो त्यो पनि भीरमा हुँदा कयौ पटक मानिसहरु लडेको र मुख्य गरि महिला, बालबालिका र जेष्ठ नागरिकहरु छोटो बाटो भएर बजार जाँदा र घर फर्कदा सोहि बाटो प्रयोग गर्ने भएकाले उनीहरु जोखिम मोलेर हिडने गर्दथे ।
तर, अब सिँढी र भीर तिर रेलिङ्ग बनाएकाले धेरै सहज भएको श्रीनगर गाउँका स्थानीय तथा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जर्मकला नेपालीले बताए । उनका अनुसार सघन शहरी विकास कार्यालय जुम्लाको ४७ लाख आर्थिक लगानीमा रेलिङ्गसहितको सिढी बाटो निर्माण भएको छ ।
स्थानीयहरूलाई बजारमा जान मात्र नभइ खानेपानीको अभाव भइरहने गमगढी बजारका बासिन्दाहरूलाई खानेपानी ल्याउन, नुहाउन र लुगा धुन नजिकै रहेको हुलुम खोला र चैन खोलालगायत गाउँ बस्तीमा जान पनि सहज भएको स्थानीय दानसिंह परिवारले बताएका छन् ।
जिल्ला सदरमुकाम अग्लो डाँडोमा रहेको र वरिपरि बस्ती भरहेकाले बजारमा जान आउन यस्ता खालका संरचना बनाउँदा छिटो छरितो र समयमै मानिसहरूका बजारजन्य काम सम्पन्न हुने गर्दछन ।
छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या मल्लले ठिनी तिरबाट, चैन तिरबाट र सशस्त्र क्याम्प तिरबाट बजार प्रवेशका लागि यस्ता खालका रेलिङ्गसहितका सिँढी बनाउन आवश्यक रहेकोले सघन शहरी विकास कार्यालयसँग माग गरिने बताइन् ।













