
काठमाडौं— कीर्तिपुरको श्रीपञ्चमी गुठीले विभिन्न कार्यक्रम गरी १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समुदायभित्रको गुठी परम्परा बमोजिम सञ्चालित सामुदायिक संस्थालाई दर्ता गरी बाह्र वर्षदेखि वार्षिक रुपमा औपचारिक कार्यक्रम गर्दै आएको छ ।
‘मानन्धर समुदायको संस्कृति प्रवद्र्धन, आर्थिक र सामाजिक सुधारको लागि गुठीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ,’ गुठीका अध्यक्ष सिद्धि कुमार मानन्धरले भने ।
राजनीतिक, आर्थिक र प्रशासनीक क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेकादेखि सामाजिक क्षेत्रमा योगदान दिएकालाई पनि गुठीले प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको उनको भनाइ थियो ।
कीर्तिपुरको कुटिसा टोलमा सघन बसोबास गर्दै आएका मानन्धरहरुको लगत संकलन गर्नेदेखि सम्बन्धित समुदाय हितमा केन्द्रित गरी गुठीले काम गर्दै आएको छ ।
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघमा आबद्ध रहेको कीर्तिपुरको श्रीपञ्चमी गुठीले राराहिल मेमोरियल स्कुलमा सम्पन्न गरेको कार्यक्रममा संवैधानिक कानुनमा विद्यावारिधि गरेका डा. सुरेन्द्र मानन्धर, नेपाल प्रहरीको एसपी भएकी डा. रोजिना मानन्धर, भिमरथारोहण, चन्द्र रथारोहण गरेका जेष्ठ नागरिक, ५० वर्षसम्म निरन्तर दाम्पत्य जीवन बिताएका सफल दम्पति तथा विभिन्न विधामा उपलब्धि हासिल गरेकालाई सम्मान गरेको थियो ।
गुठीको लेखा समितिका संयोजक राजेन्द्र मानन्धरले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा थकाली चन्द्रनारायण मानन्धर सहभागी थिए । कार्यक्रममा कोषाध्यक्ष राजु मानन्धरले वार्षिक आर्थिक प्रगति प्रतिवदेन प्रस्तुत गरेका थिए ।













