News Griha :: न्यूजगृह
हेर्दै जानुहोस् ठूला नेताको नाम आए सुन काण्ड सेलाएर जान्छ : शेखर कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहिनताको अन्त्य गरे नेपालको भविष्य उज्वल रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखा प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भए पनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको बताए ।

‘भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ, यो केश चल्दा चल्दै अर्को काण्ड आउँछ, हामीले कुनै केशलाई निष्कर्षसम्म पुर्‍याएको छैन,’ उनले भने, ‘किनभने ठूलो तहको सहभागिता हुन्छ, नेपालको भविष्य नभएको होइन्, भ्रष्टाचार हटाउने, सुशासन कायम, दण्डहिनताको अन्त्य, गर्न सक्यौँ भने नेपालको भविष्य उज्वल छ ।’

नेता कोइरालाले देश अप्ठ्यारो र अराजकतातिर गइरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको बताए । 

‘देश अप्ठ्यारो र अराजकतातिर गइरहेको छ, भ्रष्टाचारले गाँजेको छ हाम्रो देश, अर्को कुरा दण्डहिनता हत्या गर्ने काम हुन्छ, राजनीतिक लेप लगाइदिन्छौँ, अनि त्यो छुट्छ, जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरु पनि छुटेका हुन्छन्, यस्तो कुरालाई सही दिशामा लान सकेनौ भने देश अराजकता तिर जान्छ, र गइरहेको पनि छ,’ उनले थपे ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:१९
Weather Update