News Griha :: न्यूजगृह
राप्रपाले माग्यो नेता बन्न २० जनाको आवेदन
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुल्ला आवेदनमार्फत देशभर २० जना केन्द्रीय सदस्य माग गरेको छ । ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको हो ।

नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन देशभरबाट खुल्ला आवेदन माग गरिएको हो । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्य योजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनु पर्ने छ ।

कार्य योजना दिएका उम्मेदवारमध्येबाट भूगोल, जनसंख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए ।

पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नु पर्ने व्यवस्था गरिएको छ ।

सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई उनीहरूको कार्य योजनाका आधारमा छनोट गरिने जनाइएको छ । कार्य योजना पठाउन पार्टीको इमेल ठेगानामा करिब एक महिनाको अवधिमा निर्धारण गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १०:१२
Weather Update