काठमाडौं— सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।
बुधबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलको विषयहरु राखिसकेपछि १८ जना सदस्यहरुले आफ्ना धारणा राखेका हुन् ।
अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले बताए ।
उनले एक पटक पार्टी पंक्तिलाई वडास्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताए ।
उनले बैठक लाइभ गर्नु भनेको मूल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पारे ।
उनले भने,‘बैठक लाइभ गर्नु भनेको मूल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो । घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनीयता भंग हुन्छ । त्यसलाई आन्तरिक रुपमा सिमित गरिएको हो ।’













