
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०४८ सालमा सरकार बनेदेखि नेकपा एमालेमाथि चरम दमन हुँदै आएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दमनबाट एमालेका धेरै कार्यकर्ता पीडित भएको बताए ।
‘०४८ सालमा सरकार बनेपछि नेकपा एमालेमाथि यति ठूलो दमन भो, ४८ को चुनावमा सीपी मैनाली जी भाग्यमानी हो बञ्चराले हान्दा पनि बच्नु भो,’ उनले भने, ‘प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले बञ्चराले हानेको मान्छेलाई, नेपाली कांग्रसले बञ्चरोले सीपी मैनालीको टाउकोमा हान्न खोजेका थिए ।’
अध्यक्ष ओलीले निरङकुश राजतन्त्र र पञ्चायत ढाल्दासम्म जेल नेल भोगेर आन्दोलन गरेर आफूहरु अगाडि बढेको चर्चा गर्दै ३० हजार एमालेका कार्यकर्तामाथि निरंकुश सरकारले क्रुर दमन गरेको बताएका हुन् ।
अध्यक्ष ओलीले अहिले नेकपा एमालेको चरित्र हत्या गर्न, बदनाम गर्न र विस्थापित गर्न घिन लाग्दो प्रचार भइरहेको आरोप लगाए ।













