News Griha :: न्यूजगृह
चीनको राजधानीमा १४० वर्षपछि भीषण वर्षा, १३ करोड नागरिक प्रभावित

काठमाडौं— चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा १४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । 

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ ।  सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । 

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ नागरिक प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् । 

बाढी पहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढी पीडितको उद्धार गरिएको छ ।

रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खाने कुरा खसाएर सहयोग गरिएको थियो । साथै, उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मंगलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:४३
Weather Update