काठमाडौं— नेकपा एमालेले मुलुकभर फैलिएको लम्पी स्किन पशु रोगलाई महामारी घोषणा गर्न माग गरेको छ ।
नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा विरोध प्रर्दशन गर्दै एमालेले किसानलाई तत्काल बीमा उपलव्ध गराउनु पर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनु पर्ने माग गरेको छ ।
विरोधका क्रममा संचारकर्मीसँग बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँलले किसान लम्पी स्किनको महामारीबाट आजित बन्दासमेत सरकार कुभ्मकर्णको निन्द्रामा रहेको आरोप लगाए ।
‘हाम्रो देशमा लम्पी स्किनका कारण एक अर्बको क्षति भइसक्यो, पशु धन पशु वस्तु मरेको कारणले ७६ जिल्लामा फैलिसक्यो, ४९ हजार पशु मरिसके, ११ लाख पशुहरु संक्रमित भइसके,’ उनले भने, ‘तै पनि सरकार चुप बसिरहेको छ, कुम्भकर्ण निन्द्रामा छ ।’
काठमाडौं महानगरका पूर्व मेयर विद्या सुन्दर शाक्यले देशभरका लम्पी स्किन पीडित किसानले काठमाडौंमा आएर संर्घष गर्न नपरोस भन्ने हेतुले राज्यको ध्यानाकर्षण गराएको बताए ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले छिटोभन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलब्ध गराउनु पर्ने बताए ।
मुलुकभर १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको उनको आरोप छ ।