News Griha :: न्यूजगृह
कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ ग्रहण ५ बजे हुने

काठमाडौं— कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम अपराह्न ५ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश स्तरीय सत्ता गठबन्धनको बैठक सुरु भएसँगै मुख्यमन्त्रीको शपथ ग्रहण सरेको हो ।

यसअघि बुधबार बिहान साढे १० बजे नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउने तयारी भएको थियो । आज मन्त्रिपरिद्मा सहभागी हुने मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्न सत्ता गठबन्धनले तयारी गरेसँगै शपथ कार्यक्रम सारिएको हो ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता ईन्द्र बहादुर आङबोका अनुसार नवनियुक्त मुख्यमन्त्रीले थापाले आज मन्त्री बन्ने सबैलाई जिम्मेवारी दिनेबार छलफल गर्न गठबन्धनको बैठक आह्वान गरेका हुन् ।

मंगलबार मुख्यमन्त्रीले पहिलो चरणमा मन्त्री हुनेहरूलाई विना विभागीयको जिम्मेवारी दिने बताएका थिए । तर, बुधबार उनले एकैपटक जिम्मेवारीसहित मन्त्रीहरूलाई शपथ गराउने बताएका थिए ।

नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामुख बनेका बाबुराम गौतमले मंगलबार पदबाट राजीनामा दिएसँगै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:१६
Weather Update