News Griha :: न्यूजगृह
एसईई आजदेखि, झन्डै ५ लाख विद्यार्थी सहभागी

काठमाडौं— यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । एसईईमा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत्र २९ गते सकिनेछ ।

एसईईका लागि आवेदन फारम भरेकाभन्दा ३१ हजार कम विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । कूल ५ लाख १६ हजार ५७७ जनाले फारम भरेकोमा ४ लाख ८५ हजार ३९६ विद्यार्थी मात्रै परीक्षामा सहभागी हुँदैछन् ।

यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ । दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदैछन् ।

यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय अपिल गरेको छ ।

बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरू तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०६:३४
Weather Update