News Griha :: न्यूजगृह
लम्पी स्किनविरुद्ध चितवनमा खोप अभियान सञ्चालन हुँदै 
फाइल तस्बिर

काठमाडौं— चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु हुने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए । 

उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ ।प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रुपमा लम्पी स्किनविरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए । अभियानका लागि २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने आचार्यले बताए ।

‘अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ,’ प्रदेश सरकारले अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनले बताए । सातै पालिकामा पालिएका गाई भैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने उनले जानकारी दिए ।

उनले थपे, ‘स्वस्थ पशुलाई खोप लगाइन्छ ।’ जिल्लाका पालिकाहरूको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।.

जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । भरतपुर महानगरमा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार र रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उनले जानकारी दिए ।

जिल्लामा हालसम्म ११ हजार १८५ गाई भैँसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्यांकअनुसार हालसम्म २८७ गाई लम्पी स्किनबाट मरिसकेका छन् ।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए । गाई भैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने जस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेष गरी संक्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । 

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नु पर्ने आचार्यले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:२०
Weather Update