News Griha :: न्यूजगृह
न्यायाधीश पद खाली हुँदा मुद्दाका चाङ

काठमाडौं— अदालतमा न्यायाधीश पद खाली हुँदा मुद्दाका चाङ लागेको छ । राजनीतिक खिचातानीका कारण तीनै तहका न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि न्यायाधीश रिक्त छन् । न्यायाधीश नियुक्ति गरेर न्याय सम्पादनलाई चुस्त बनाउन सरकारको ध्यान पुगेको छैन ।

सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित सात जना न्यायाधीश रिक्त हुँदै छन् । त्यस्तै उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना रिक्त भइसकेका छन् ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ । ६५ उमेर हदका कारण सेवा निवृत्तका हुँदा शुक्रबारदेखि १४ जना मात्रै न्यायाधीश हुनेछन् । न्यायाधीश नियुक्तिका लागि बस्नुपर्ने न्याय परिषद् बस्न सकेको छैन ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश अध्यक्षसहित न्याय परिषद्मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम एक जना न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानुनविद्, नेपाल बार एशोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त २० वर्ष अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता रहने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:५६
Weather Update