News Griha :: न्यूजगृह
बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०६:३१
Weather Update